×

क्रान्तिकारी पार्टी निर्माणमा लागेका छौँ : अध्यक्ष प्रचण्ड

images

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीलाई रुपान्तरण गरी क्रान्तिकारी बनाउने अभियान सुरु भएको बताउनुभएको छ । 

पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक एवं वैचारिक प्रशिक्षण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले माओवादीको नेतृत्वमा परिर्वतनको रक्षा र देश विकास हुने स्पष्ट भएकाले नयाँ आधारमा पार्टीलाई रुपान्तरण गर्दैै अघि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न शक्तिहरू माओवादीलाई कमजोर बनाउन लागि परेका छन् । माओवादी कमजोर हुँदा अहिलेको व्यवस्था र परिर्वतनका एजेण्डाहरूसमेत कमजोर हुन्छन् । सबै नेता कार्यकर्ताले पुनः एकपटक पार्टीलाई शक्तिशाली बनाउन पार्टी निर्माणको अभियानमा लाग्न आग्रह गर्दछु ।”

अध्यक्ष प्रचण्डले प्रतिगमन विरोधी आन्दोलनले जनता अग्रगमनका पक्षमा भएको पुष्टि गरेको र त्यसको प्रमुख नेतृत्व माओवादीले गरेकाले पार्टीको रुपान्तरण गर्दै नयाँ पार्टी निर्माण सम्भव भएको उल्लेख गर्नुभयो । “पार्टीलाई क्रान्तिकारी पार्टीकै रूपमा रूपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका छौँ ।”

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन पार्टीका लागि जीवनमरणको सवाल रहेको उल्लेख गर्दै सोहीअनुसार गाउँगाउँमा सङ्गठन विस्तार र सुदृढीकरणका कार्यक्रम लिएर जान नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।  पार्टीले अहिले १० प्रदेशमध्ये नौ वटामा प्रशिक्षण सम्पन्न गरिसकेको र मधेस प्रदेशपछि स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर अभियान सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन नै पार्टीको अहिलेको मुख्य कार्यभार रहेको चर्चा गर्दै एकताबद्ध बनेर चुनावमा केन्द्रित हुन आग्रह गर्नुभयो । प्रशिक्षणमा पार्टीका नेता देव गुरुङ, शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल, प्रदेश कमिटीका इन्चार्ज हितराज पाण्डे र अध्यक्ष गायत्री गुरुङले गण्डकी प्रदेशमा पार्टी गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै सङ्गठन विस्तारमा जोड दिनुभयो । 

प्रशिक्षणमा प्रदेशअन्तर्गत ११ जिल्लाका नेता कार्यकर्ता गरी दुई हजार जनाको सहभागिता रहेको बताइन्छ । प्रदेश कमिटीको चैत ८ गते बस्ने बैठकले पदाधिकारी चयन गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

सोमबार ७ चैत २०७८ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया