×

विश्वकप क्रिकेट लिग दुई ः नेपाल नामिबियासँग पराजित

images

काठमाडौँ, ९ फागुन : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ । नेपालले जितको लागि दिएको एक सय ६९ रनको मध्यम लक्ष्य नामिबियाले ४० ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नामिबियाको जितमा जेराल्ड एरास्मसले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ५७ बल खेल्दै आठ चौका र दुई छक्काको सहायताले सर्वाधिक ५२ रनको योगदान गरेका हुन । त्यसैगरी जेजे स्मिथले अविजित ३४ रन बनाउँदा माइकल भान लिंगेनले ३१ रन बनाए । त्यस्तै रुबेन ट्रम्पलम्यानले १६ रन बनाए भने बर्नार्ड स्कोलज र निको डाभिनले समान आठ आठ रन जोडे । बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव १ ओभरमै सबै विकेट गुमाएर एक सय ६८ रनको योगफल बनाएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतमा ५८ रनको योगदान दिएका हुन । त्यस्तै कुशल मल्ल ३८, भीम सार्की २६, कुशल भुर्तेल १८ तथा करण केसीले १२ रन बनाए । त्यस्तै नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल रनको खाता नै नखोली आउट भए । बलिङतर्फ नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले समान चार चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक÷एक विकेट लिए । नेपालको नामिबियासँगको यो दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पारेको थियो । यस जितसँगै नामिबियाले चार अङ्क जोडेको छ भने नेपालको दुई अङ्क छ ।

बुधबार ९ फागुन २०८० ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया