×

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

images

अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुकलिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका थिए । नेपालको न्यूयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयले महोत्सवमा भाग लिनका लागि समन्वय गरेको थियो । 

कार्यवाहक कन्सुलर जनरल विष्णु गौतमले रासससँग संक्षिप्त कुरा गर्दै यस्ता प्रदर्शनीमा सहभागिताले नेपालको पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत गर्ने बताउनुभयो । “चिया तथा कफीका लागि अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लाग्नुभएका व्यवसायीहरुले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी देखिन्छ ।”
 
अमेरिकामा विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दे आउनुभएका नेपाल टि एलएलसीका संस्थापक निश्चल बाँस्कोटा महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताउनुहुन्छ । अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीहरुमा समेत सहभागिता जनाउँदै आउनुभएका बाँस्कोटा नेपालको अर्गानिक चियाको राम्रो बजार भएको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताउनुहुन्छ । 

“हामीले अमेरिकाको बजारमा नेपालका कृषकहरुले उत्पादन गरेका अर्गानिक चियालाई सिधै उपभोक्तासम्म पुर्याउनका लागि पहल गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “विश्व बजारमा चियामा उच्च प्रतिस्पर्धा छ तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत पाएकाले उपभोक्तामाझ पुर्याउन सहज महसुस गरेका छौँ ।”

सोमबार ९ फागुन २०७८ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया