×

बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माण

images

काठमाडौ । ७ माघ : हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । विसं २०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो ।

निर्माण कम्पनीले विसं २०७८ फागुन २७ सम्ममा सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिर ११ गते सम्झौता गरेको थियो । पटकपटक थप गरेको म्याद गुजारेका कम्पनीले यही माघ ४ गते स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न गरेको हो । भवन शनिबार नगरप्रमुख विमला राईले उद्घाटन गर्नुभएको छ । 

स्वास्थ्य चौकीको नयाँ भवन बनेसँगै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले जानकारी दिनुभयो । “आफ्नै भवन अभावमा स्वास्थ्य चौकीलाई हाल स्थानीय झोक्रे राईको घरका दुईवटा कोठा भाडामा लिएर सञ्चालनको व्यवस्था मिलाइएको छ । स्वास्थ्य चौकीको भाडाको कोठा साँघुरो छ”, उहाँले भन्नुभयो, “कोठामा बल्लतल्ल दुईवटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता छ । यी सम्पूर्ण समस्यालाई मध्यनजर गर्दै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको हो ।”

भाडाको घरमा राख्नुअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्य चौकीलाई विसं २०७९ माघदेखि मासिक रु पाँच हजार भाडा दिएर व्यक्तिको घरमा सारिएको थियो ।

बर्थिङ सेन्टर (प्रसूतिगृह)लाई विसं २०७५ देखि मासिक रु चार हजारमा स्थानीय उषा राईको घरमा राखिएको छ । साउदी सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबाङ्देल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मङ्गलटार र बतासे स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएको थियो । 

निर्माण कम्पनीले रु सात करोड ४० लाख ८४ हजार दुई सय ९६ लगानीमा पाँच स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का लिएको थियो । हालसम्म पाँचवटै भवनको कामले पूर्णता पाउन नसकेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन निर्माण अहिलेसम्म सम्पन्न भएको छैन । 

आइतबार​ ७ माघ २०८० ०८:०४ AM मा प्रकाशित

प्रतिक्रिया