×

पहिलो महाधिवेशनको तयारीमा रास्वपा: शीर्ष नेताहरूलाई देशभर परिचालन , को कहाँ खटिए? (सूचीसहित)

images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो महाधिवेशनलाई केन्द्रित गर्दै पार्टीका शीर्ष नेताहरूलाई देशभर परिचालन गर्ने निर्णय गरेको छ। वडा, पालिका तथा जिल्ला तहको भेला र अधिवेशन सफलतापूर्वक सम्पन्न गराउनका लागि पार्टीले केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र विभिन्न विभागका नेताहरूलाई जिम्मेवारी तोकेर जिल्ला-जिल्लामा खटाएको हो।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। सोही महाधिवेशनको पूर्वसन्ध्यामा तल्लो तहका सबै संरचनाहरूको अधिवेशन सम्पन्न गर्न पार्टीले स्पष्ट कार्यतालिका सार्वजनिक गरेको छ। जसअनुसार तदर्थ समिति गठन हुन नसकेका वडाहरूको भेला जेठ २ गते र वैशाख २० गतेअघि नै तदर्थ समिति बनिसकेका वडाहरूको अधिवेशन जेठ ३ गते सम्पन्न भइसकेको छ। अब दोस्रो चरणको वडा अधिवेशन आगामी जेठ १६ गतेका लागि तय गरिएको छ।

यसैगरी, पालिका तहको भेलाका लागि जेठ ९ गतेको समय तोकिएको छ भने पालिका अधिवेशन जेठ १० र १७ गतेका लागि सुनिश्चित गरिएको छ। त्यसलगत्तै जेठ २३ र २४ गते जिल्ला अधिवेशनहरू सञ्चालन हुनेछन्। स्थानीय तह र जिल्लाको प्रक्रिया सकिएपछि जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु भई असार १ गतेभित्र सम्पन्न गरिसक्ने गरी कार्यतालिका बनाइएको रास्वपाले जनाएको छ।

केन्द्रीय तहबाट खटिएका प्रतिनिधिहरूलाई स्पष्ट कार्यादेश (टीओआर) समेत तोकिएको छ। वडा, पालिका र जिल्ला तहमा भेला हुन नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिहरूले समन्वय र सहजीकरण गर्नेछन्। पार्टीको संरचना नै नबनेको ठाउँमा नयाँ तदर्थ समिति गठन गर्ने र बनिसकेका स्थानमा अधिवेशन गराउने मुख्य जिम्मेवारी उनीहरूको रहनेछ। सांगठनिक खुकुलोपन अपनाउँदै रास्वपाले वडा र पालिका तहमा कम्तीमा ३० प्रतिशत मात्रै अधिवेशन सम्पन्न भए पनि त्योभन्दा उपल्लो तहको अधिवेशन अगाडि बढाउन सकिने निर्णय गरेको छ।

जिल्ला प्रतिनिधि खटाउँदा हरसम्भव सांसदहरूलाई आफ्नै गृहजिल्लाको जिम्मेवारी दिइएको छ भने सरकारमा रहेका मन्त्रीहरूलाई भने महाधिवेशनको सांगठनिक काममा लगाइएको छैन। निर्वाचन क्षेत्र धेरै भएका ठूला जिल्लाहरूमा एकभन्दा बढी प्रतिनिधिहरू खटाइएका छन्।

मुख्य नेताहरूको कार्यविभाजन अनुसार महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा, सहमहामन्त्री विपिन आचार्यलाई दाङ, सचेतक क्रान्तिशिखा धिताललाई रोल्पा, प्रवक्ता मनिष झालाई धनुषा र सह-प्रवक्ता रमेश प्रसाईलाई ताप्लेजुङको जिम्मेवारी दिइएको छ। यसैगरी, पूर्वउपसभामुख इन्दिरा रानामगर र पूर्वसचेतक निशा डाँगीलाई झापा तथा सांसद रञ्जु दर्शनालाई काठमाडौंको पार्टी प्रतिनिधि बनाएर खटाइएको छ।

बुधबार ६ जेठ २०८३ ०४:१० PM मा प्रकाशित

प्रतिक्रिया