×

बालेनले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। समर्थकको ठूलो भीडसहित आफ्नो उम्मेदवारी दर्ताको लागि पुगेका बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रोजेका हुन् ।

धेरैले बालेनले काठमाडौं–२ बाट चुनाव लड्ने अड्कलबाजी गरेका थिए । तर, उनी ओलीलाई पराजित गर्ने उद्घोषसहित झापा–५ पुगेका हुन् । बालेनले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा शाहको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक र त्रिपक्षीय बनाउने अनुमान गरिएको छ ।

२०७९ को निर्वाचनमा ओली ५२ हजार ३१९ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला ओलीले राप्रपासँग चुनावी तालमेल गरेका थिए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । तेस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत प्राप्त गरेका थिए ।

आसन्न निर्वाचनमा एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । यस क्षेत्रमा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५, ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, दमक नगरपालिका र कमल गाउँपालिका पर्दछ । झापा–५ नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याएको छैन ।

मङ्गलबार ७ माघ २०८२ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया