काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । लामिछाने कुल दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्। उनी सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा थिए । आज उनी भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा बैंक जमानत बुझाएर छुटेका हुन् । साथै बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै रास्वपाले लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछानेले तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने बताएका हुन्।
उनले पार्टी विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख समेत गरेका छन्। यस्तै लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन् । उनले अहिले आफ्नो बोल्ने समय नआएको समेत बताए । अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने समेत उनले बताए ।
‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ’, विज्ञप्तिमा कार्यवाहक सभापति अर्यालले भने, ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किनुहुनेछ।’
प्रतिक्रिया