×

अत्यधिक गर्मीबाट एक व्यक्तिको मृत्यु

images

काठमाडौं । अत्यधिक गर्मीपछि बेहोश भएका धनगढी उपमहानगरपालिका(१६ का ५३ वर्षीय बलराम मग्राठीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोश भएका ५३ वर्षीय मग्राठीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।


गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोश भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिए ।

गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा मंगलबारबाट थप तीन दिन बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । गर्मी बढेपछि यसअघि गत जेठ महिनामा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो ।


पश्चिम तराईका कैलालीसहितका जिल्लामा पहिलोपटक लगातार अत्यधिक गर्मीको महसुस भएको स्थानीयवासीले बताएका छन् ।


“यो वर्ष गएको जेठ १७ गते धनगढीमा यो वर्षकै सबैभन्दा बढी अधिकतम तापक्रम ४४ दशमलव एक डिग्री सेल्सियस मापन भएको थियो”, अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले भने, “गर्मी बढ्दै जाँदा अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ ।”

अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा गर्मी बढी महसुस हुने गरेको साहले बताए । धनगढीको मंगलबार अधिकतम तापक्रम ४३ दशमलव एक डिग्री सेल्सियस मापन भएको छ ।

गर्मी बढ्दै जाँदा रोपाइँका लागि खेतमा राखिएका धानका ब्याड (बीउ) सुक्न लागेको किसानले बताएका छन् । गर्मी बढेसँगै धनगढीसहितका बजारमा चहलपहल घटेको छ ।

बुधबार ५ असार २०८१ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया