काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउन आग्रह गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओडिसाका शिक्षामन्त्री सूर्यबंशी सुरजसँग टेलिफोन संवाद गरेकी छन्। शिक्षामन्त्री सुरजलाई फोन गरेर लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीमा ल्याउन आग्रह गरेको परराष्ट्र मन्त्री राणाले बताएकी छन्।
‘आज पनि मैले ओडिसाका हायर एजुकेसन मिनिस्टर सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेँ,’ उनले भनेकी छिन्, ‘उहाँले यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराउनुभयो ।’
त्यस्तै मन्त्री सुरजले नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टेलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको भनेको पनि पनि मन्त्री राणाले बताएकी छन्।
कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्त्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताएको पनि उनले जानकारी दिइन्।
सो विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि मन्त्री राणाको प्रस्टोक्ति छ।
प्रतिक्रिया