×

आज प्रजातन्त्र दिवस, देशभर भव्य रुपमा मनाइँदै

images

काठमाडौ । आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस, २००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो ।

आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र स्थापनाका लागि चार सहिद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ सालमा बलिदानी दिएका थिए । उनीहरुलाई राणा शासनविरुद्ध षड्यन्त्रको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

राणा शासन अन्तका लागि राजा त्रिभुवनले विशेष भूमिका खेलेका थिए । राणाहरुविरुद्ध नेपाली काँग्रेसले संघर्ष गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन निर्देशन जारी गरेको छ ।

आज फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ।

नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ।

यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ। यस्तै फागुन ६, ७ र ८ गते घर–घरमा साँझ दीपावली गर्न तथा विद्यालय, सङ्घ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

आइतबार​ ७ फागुन २०७९ ०८:४३ AM मा प्रकाशित

प्रतिक्रिया