×

अर्थतन्त्र र बैंक दुवै डुबेको छैन र डुब्न पनि दिईदैन-अर्थमन्त्री पौडेल

images

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने बताएका छन् । आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र डुब्यो भनेर हावादारी टिप्पणी भइरहेको बताए । मन्त्री पौडेलले अर्थतन्त्र र बैंक दुवै नडुबेको र डुब्न पनि नदिइने बताए ।


साथै, अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उनको दाबी छ । मन्त्री पौडेलले भने, ‘अर्थतन्त्र डुबेको छैन, बैंक पनि डुबेको छैन । हामी छौं अर्थतन्त्र डुब्न दिँदैनौं, बैंक पनि डुब्न दिँदैनौं । म यो कुरामा विश्वास दिलाउन चाहन्छु । तथ्यले के बताएको छ भने अर्थतन्त्र क्रमशः सुध्रिँदै आएको छ । क्रमशः लय समाउँदै आएको छ, अर्थतन्त्र डुब्यो भनेर हावादारी टिप्पणी गरेर केही अर्थ छैन भन्ने मलाई लाग्छ ।’

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताए । ‘हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ,’– उनले भने ।

वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताए । सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेलगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ थियो । ‘पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ,’– उनले भने ।

निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उनले बताए । ‘कुनै निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ,’– उनले भने ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताए । ‘सम्पत्ति शुद्धिकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ,’– उनले भने ।

आइतबार​ ६ माघ २०८१ ०६:२७ PM मा प्रकाशित

प्रतिक्रिया