×

काठमाडौँमा देउसी-भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

images

काठमाडौँ । काठमाडौँमा राति नौं बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै देउँसी-भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका ९ बजेसम्म गर्न समय तोकिदिएको छ ।

प्रशासनले सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसी-भैलो खेल्न नपाइने जानकारी दिदै सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पुजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन नपाइने जनाएको छ ।

काठमाडौँ प्रशासनले तिहार लक्षित गरेर निम्नानुसार गर्न गराउन आग्रह गरेको छ :

१- दिपावलीको अवसरमा मैनवत्ती तथा विजुलीको प्रयोग गर्दा सावधानी अपनाउनु हुन, आतिसवाजी, पटाका, भुइचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद-बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न/नगराउनु हुन ।

२- देउँसी-भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका ९:०० बजेसम्म गर्नुहुन ।

३- देउसी-भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउनुहुन ।

४- सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसी-भैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पुजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन पाइने छैन ।

५- चाडपर्वको समयमा आ- आफ्नो घर / निवासको सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको विषय सर्वविदितै छ । अतः घर खाली नहुने गरी चनाखो र सतर्क भै आ-आफ्नो घर रेखदेख गर्नुहुन, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउनुहुन र शंकाष्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवम् सुरक्षा इकाईमा खबर गर्नुहुन अनुरोध छ ।

६- चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल् पुग्ने कुनै पनि गतिविधि नगर्न/नगराउनु हुन। अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्ने लगायतका उपभोक्ता हित विपरितका कार्यहरु नगर्नु/नगराउनुहुन ।

७- सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने/गराउने ।

८- गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्ने ।

सूचनामा उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गरे / गराएको पाइएमा नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोलनं. १०० वा मोवाइल नं. ९८५१२८३०२६, ९८५१२८३८३६ मा सम्पर्क गरी जानकारी गराउनुहुन समेत अनुरोध छ ।

शनिबार २ कात्तिक २०८२ ०५:१८ PM मा प्रकाशित

प्रतिक्रिया