×

देउवाको हिन्दू राष्ट्र कार्डप्रति प्रचण्डको कडा काउन्टर: ‘धर्मनिरपेक्षता चलाए देश र तपाईं दुवै सकिनुहुन्छ’

images

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन कडा चेतावनी दिएका छन्। पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण एवं एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफैँले हस्ताक्षर गरेर बनाएको संविधानको मर्यादा राख्न देउवालाई सचेत गराएका हुन्।

कांग्रेस इतर समूहको भेलामा देउवाले हिन्दू धर्मको एजेण्डालाई संकेत गर्दै दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भएका हुन्।

 धर्मनिरपेक्षता जस्ता संवैधानिक आधारस्तम्भ सङ्कटमा पार्ने गरी दायाँबायाँ लागे देउवा आफैँ सकिने र देश पनि दुर्घटनामा पर्ने प्रचण्डको दाबी छ। वर्तमान सत्ता गठबन्धन संविधान, लोकतन्त्र र राजनीतिक व्यवस्था विपरीत अगाडि बढेको आरोप लगाउँदै उनले कार्यकर्तालाई सडक आन्दोलनका लागि तयार रहन अपिल गरे। 

नेकपा एमालेसँग भएको हालैको तीनबुँदे सहमतिले सहकार्यको ढोका खोले पनि केपी शर्मा ओलीको प्रवृत्ति नसच्चिएसम्म तत्काल पार्टी एकता सम्भव नरहेको उनले स्पष्ट पारे। वर्तमान राजनीतिक परिस्थितिमा कसैलाई मन परे पनि नपरे पनि अहिलेलाई भएको सहमति कार्यान्वयन गरेरै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

 के थियो विवादको पृष्ठभूमि?

केही दिनअघि नेपाली कांग्रेसभित्रको आन्तरिक भेलाका क्रममा शेरबहादुर देउवाले हिन्दू राष्ट्रको एजेण्डा र पहिचानका पक्षमा सफ्ट कर्नर राख्दै अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर सत्तारूढ र प्रतिपक्षी दलहरूबीच राजनीतिक ध्रुवीकरण तीव्र बनिरहेका बेला प्रचण्डले यसलाई परिवर्तन उल्ट्याउने खेलको रूपमा व्याख्या गरेका हुन्।

बैठकमा बागमती प्रदेश संयोजक सरलसहयात्री पौडेलले विभिन्न वामपन्थी घटकहरूको एकतापपछि संगठन भद्दा र भद्रगोल देखिएकाले आगामी अधिवेशनबाट सानो र प्रभावकारी संगठन बनाउनुपर्ने प्रतिवेदन समेत पेस गरेका छन्। प्रचण्डले देउवालाई दिएको यो कडा चेतावनीसँगै नेपाली राजनीतिमा संविधान संशोधन र धर्मनिरपेक्षताको मुद्दा पुनः तातेको छ।


मङ्गलबार २ भदौ २०८३ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया