×

६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

images

काठमाडौँ । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् ।

अछामको तुर्माखात गाउँपालिका घर भएका चलाउने विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले  बताए । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।


चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए ।

ब्युरोकी तत्कालीन प्रमुख किरण बज्राचार्यको निर्देशनमा छुटेका चलाउनेले गरेको ‘बयान कागज’ नै सीआईबीका अधिकृहरुले गायब बनाएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । चलाउने भारतको चण्डीगढबाट दुबई हुँदै अमेरिकामा गएर लुकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

समितिले चलाउनेलाई सीआईबीका प्रहरीले समातेर पनि छाडेको भन्दै प्रहरीलाई कारबाही गर्न समेत सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी हेडक्वाटर सरुवा गरिएको थियो ।

बिहीबार ६ बैशाख २०८१ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया