×

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

images

अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ ।

सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो । 

उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन् । 

आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसङ्घले धन्यवाद ज्ञापन गरेको छ । 

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गर्नुभएको हो । 

अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उहाँले शुक्रबार उल्लेख गर्नुभएको छ ।  

तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन् ।   

तालिवान सरकारको यस निर्णयलाई महासचिव गुटेर्रेसले “महत्वपूर्ण र स्वागतयोग्य” भन्नुभएको छ । 

छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरुको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उहाँले अपेक्षा व्यक्त गर्नुभएको छ । 

बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तरराष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन् । 

शुक्रबार​ ४ चैत २०७८ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया