×

विर्तामोडबाट राजेन्द्र महतोको उदघोष ‘वहुलराष्ट्रिय राज्य स्थापनाका लागि मुक्ति क्रान्ति हुन्छ’

images

बिर्तामोड । राष्ट्रिय मुक्ति क्रान्ति मार्फत वहुलराष्ट्रिय राज्य स्थापना गर्ने उदेश्यले एकीकृत शक्ति निर्माण गर्ने प्रयोजनको लागि झापाको बिर्तामोडमा आज छलफल कार्यक्रम सम्पन्न भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो, संघिय लिम्बुवान पार्टीका नेता सन्जुहाङ पालुङ्वा, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा वीच एकैसाथ सो उदेश्य पुराका लागि संघर्षमा उत्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । लोसपा वरिष्ठ नेता महतोले यस उदेश्यलाई पुरा गर्नका लागि जस्तोसुकै मुल्य चुकाउन आफु तैयार रहेको बताउँदै भने, ‘एकल राष्ट्रिय राज्यको संरचना बदलेर वहुलराष्ट्रिय राज्य बनाउनु भनेको, नेपाल सबै नेपालीको बनाउनु हो । पृथ्वीनारायण शाहले राज्य विस्तार गरेदेखि अहिलेसम्म माटो मिल्यो तर मन मिलेको छैन ।’ त्यसैगरी अर्का वक्ता संजुहाङ पालुङ्वाले यस उदेश्यका लागि आफु पार्टी त्यागेर पनि संगै हिड्न तैयार रहेको बताए ।

‘अन्य साथीहरू जो विभिन्न पार्टीमा लाग्नु भएको छ तपाईहरु पनि लिम्बुवान राष्ट्रिय राज्यको निम्ति आ–आफ्नो पार्टी त्याग गरेर आउनुस हामी सपना पुरा गर्छौं’ उनले भने । त्यसैगरी जनमुक्तिका अध्यक्ष केपी पालुङ्वाले यस उदेश्य प्राप्तिका लागि छलफललाई निरन्तरता दिन र यो क्रान्ति सफल पार्न आफु तैयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा लोसपाका महासचिव केशव झाले एक्ला एक्लै संघर्ष गरेर मधेशी वा आदिवासी जनजाति कहि पुग्न नसक्ने भएकोले यस उदेश्यको निम्ति एक भएर अगाडि बढनुको विकल्प नरहेको बताए । त्यसैगरी आदिवासी जनजाति आन्दोलन संघर्षका ज्ञाता, बुद्धिजीवी तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले विश्वभरी भएको विभिन्न खाले आन्दोलन, संघर्ष र विद्रोहको इतिहास बताउदै नेपालमा वहुलराष्ट्रिय राज्यको स्थापनाको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको बताए । मोक्तानले यस उदेश्यको निम्ति चाहिने सवैखाले तैयारी आफुहरुले पुरा गरिसकेको बताए । कार्यक्रमको संचालन लिम्बुवानका क्रान्तिकारी नेता लासिमले गरेका थिए ।

 

 

आइतबार​ ५ फागुन २०८० ०७:३० PM मा प्रकाशित

प्रतिक्रिया