×

अहिलेको सरकारबाट सुशासनको प्रत्याभूति भएको छैन - डा. शेखर कोइराला

images

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै एमालेकरण भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनको शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिलेको सरकारबाट सुशासनको प्रत्याभूति नभएको भन्दै प्रश्न उठाए । उनले कांग्रेसले थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको पनि आरोप लगाए । कोइरालाले भने,‘भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस हो । हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । मलाई त डर लागिरहेको छ, चिन्ता लागिरहेको छ । यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ ।’

साथै उनले नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाउने कुरामा दुई मत नभएको भन्दै विधेयक फिर्ता गरेर सामाजिक सञ्जाल प्रयोग गर्नेहरूसँग बसेर छलफल गर्नुपर्ने बताए।

उनले भने, ‘सामाजिक सञ्जाल विधेयक भर्खर संसदमा गएको छ, छलफल हुन बाँकी नै छ। जसरी यो विधेयक आएको छ र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्छ। नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइदैन भन्ने कुरामा दुई मत छैन। कुनै पनि हालतमा विधेयक फिर्ता गरेर स्टेक होल्डर र अन्य सामाजिक सञ्जालको प्रयोग गर्नेहरुसँग बसेर छलफल गरेर मात्र विधेयक ल्याउन जरुरी छ।’

उनले कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर आफूनै पहिला लागेको स्मरण गराए । उनले भने,‘यो सरकार बनाउने बेलामा हामीहरु सबै लागेका थियौं । दुई वटा ठूला दल मिलेर सरकार बनाउँ, सुशासन दिन सकिन्छ । संविधानमा संशोधन गर्न सकिन्छ । राजनीतिक स्थायित्व दिन सकिन्छ , र देशलाई समृद्ध बनाउनको लागि मैले नै पहल गरेको हो भन्दापनि हुन्छ । तर, जसरी यो सरकार चल्दैछ । अगाडि बढ्दैछ । संसद्लाई छलेर अध्यादेशहरु ल्याउने जमर्को गरिराखेको छ । त्यसले लोकतन्त्रलाइृ अप्ठ्यारोमा पारिरहेको छ । तपाईंको अध्यादेश राम्रो छ कि नराम्रो भन्ने कुरा पछिको कुरा हो । संसद् आउनुभन्दा ६ दिन पहिले, विद्येयक आउँछ । अध्यादेश ल्याईन्छ, के कारणले ल्याएको हो ? अहिले किन अर्जेन्सी पर्यो ? यो कुरामा सरकारले जवाफमा दिन जरुरी छ । हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । कस्तो सुशासन दिन थालियो भने घुस दिनेलाई समात्ने अनि घुस लिनेलाई चाहीँ छोडिदिने ।’

कोइरालाले महान्यनयाधिविक्ता रमेश बडालको भूमिकामाथि पनि प्रश्न उठाए । उनले भने,‘अहिले महान्यायाधिवक्ताको क्रियाकलाप हेर्ने हो भने राज्यले दिएको अधिकारको दुरुपयोग भैराखेको छ । यसमा दुईमत छैन् । कताकता मलाई चिन्ता लागेको छ, हामीहरु सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकत्ता छ । हामी प्रतिष्पर्धी पनि हौं । एमाले र कांग्रेस प्रतिपष्र्धी हुन् । हामीले जे/जे कुरामा चिक्त बुझ्दैन, हामीले खबरदारी गरेर अगाढि जानुपर्ने आवश्यकत्ता छ ।’

उनले कांग्रेस र एमाले मिलेर माथिल्लो तहदेखि वडा तहसम्म राजनीतिक संयन्त्र बनाएर शासन गर्ने कुराको पनि विरोध जनाए । उनले भने,‘मलाई डर लागिरखेको छ, चिन्ता लागिरहेको छ, यो सरकार एमालेकरण त भैरहेको छैन भन्ने त चिन्ता लागेको छ। संयन्त्रले सरकार चलाउने कम्युनिष्टमा मात्रै हुन्छ । साम्यावादी देशमा मात्रै संयन्त्रले देश चलाउँछ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्र बनाउने काम भयो । अब वडापनि संयन्त्र बनाएर चलाउने दुस्प्रयास भैरहेको छ । लोकतन्त्रमा यसरी संयन्त्रले देश चलाउने होईन । यो कुरा हामीले बुझ्न जरुरी छ । विस्तारै नथाहापाउने तरिकाले एमालेकरण भैरहेको छ।’

मङ्गलबार ६ फागुन २०८१ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया