×

नेपाल प्रिमियर लिग-कर्णाली याक्समाथि विराटनगरको रोमाञ्चक जित

images

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को शुक्रबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ। अलराउण्डर बसिर अहमदको उत्कृष्ट ब्याटिङमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो।

कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो। विराटनगरका लागि बसिरले ४३ बलमा ६२ रन बनाए। यस्तै नारायण जोशीले १६ बलमा २५ तथा साहिल पटेलले १९ रन बनाए। कर्णालीका सोमपाल कामी र गुल्शन झाले दुई दुई विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो। कर्णालीका प्रियांक पांचालले अर्धसतक बनाए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरि ६३ रन बनाए।

यस्तै विलियम बोसिस्टोले ४८ तथा गुल्शन झाले २० रन बनाए। विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डे ल्यांगले एक एक विकेट लिए।

शुक्रबार​ १३ मंसिर २०८२ ०८:०३ PM मा प्रकाशित

प्रतिक्रिया