×

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा प्रकरण- पूर्वसचिव कार्कीसहित चार जनाविरुद्ध पाँच अर्ब २५ करोड बिगोको मुद्दा दायर

images

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएकाले मुद्दा दायर गरेको छ । बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार कम्पनी र तीन जनाविरूद्ध मुद्दा दायर गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए।

यस मुद्दामा थामसेर्कुका अध्यक्ष लाक्पा सोनाम शेर्पा, तत्कालीन सचिव अर्जुनकुमार कार्की, सहसचिव लेखबहादुर कार्की र थामशेर्कू ट्रेकिङ प्रालिलाई प्रतिवादी बनाइएको छ। उनीहरूविरूद्ध ठगी कसुरमा मुद्दा दायर भएको छ।

कार्कीद्वय प्रहरी हिरासतमा छन्। शेर्पा विरूद्ध पक्राउ पुर्जी भए पनि उच्च अदालत पाटनबाट स्टे अर्डर जारी भएकाले उनी पक्राउ परेनन्। यो मुद्दामा तीन जना सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता नमुना गोदार र रत्नकेशरी महर्जनले अभियोजन गरेका हुन्।

अभियोग दर्ता गर्दा तीन किसिमले बिगो कायम गरी भराउन माग गरिएको छ। प्रतिवादी बनाइएकाहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भएपनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ । यसरी गरेको सम्झौता नियम सङ्गत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानको निष्कर्ष छ ।

२०७४ जेठ १४ गते भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको पाइएको छ ।

नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित कित्ता नं। ४६०६ को १–१४–०–३–५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिका बिचमा निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो । सीआईबीले ‘ठगी र आपराधिक विश्वासघात’को आरोपमा अनुसन्धान अघि बढाइएको दाबी गरेको थियो ।

बुधबार २ पुस २०८२ ०६:४९ PM मा प्रकाशित

प्रतिक्रिया