×

फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन -डा. शेखर कोइराला

images

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । 

बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठुलो संवैधानिक सङ्कट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए ।

उनले आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकाङ्क्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे । 

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण निर्वाचनमा भाग लिएर लिने निर्णय गरिसकेको उनले बताए । संसद् पुनस्थापनाको मागसहित कांग्रेसका केही नेताहरु अदालत गएको उनको भनाइ छ । ‘हामीले निर्वाचनमा भाग लिने भनेका छौँ,’ उनले भने,‘तर, व्यक्तिगत स्वतन्त्रताको ख्याल गर्दै सांसदहरू सर्वोच्च अदालत जानुलाई अन्यथा लिनु हुँदैन ।’

तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे ।

 ‘यो सरकार त संविधानअनुसार त भएको हैन । निर्वाचन कहिले हुन्छ भन्ने पनि छ । चुनाव त सरकारले गराउनुपर्‍यो । नेताहरूलाई  भ्याली (काठमाडौँ उपत्यका)  छोड्न नदिएर सरकारले कस्तो चुनाव गराउन खोजेको हो ?’ उनको प्रश्न थियो । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई उपत्यका छोड्न नपाउने निर्णय गरेको छ । कोइरालाले सरकारको यस्तो निर्णयप्रति आपत्ति जनाए ।

फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेर बहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए । उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवेशन हुनुपर्ने धारणा राखे । 

बुधबार २ पुस २०८२ ०७:०२ PM मा प्रकाशित

प्रतिक्रिया