×

स्वयम्भू महाचैत्यको जीर्णोद्वार सम्पन्न

images


काठमाडौँ, १ पुस : विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भमहाचैत्यको जीर्णोद्वार सम्पन्न भएको छ । चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पु¥याएको स्थानीयको भनाइ छ ।

    पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौँ महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । काठमाडौँ–१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन् । सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । 

    यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि पनि सर्वसाधारण आउने गरेको पाइएको छ । प्राचीन सम्पदा भएकाले पुरातत्व विभागको परामर्श तथा अनुमति प्राप्त भएपछि मात्र जीर्णोद्वार गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिनुभयो । उक्त महासमितिले यस क्षेत्रको सरसफाइ तथा आवश्यक संरक्षण गर्ने गरेको छ । 

    मर्मत तथा जीर्णोद्वारको काम सकिएपछि विधिअनुसार पूजा गरी गजुर पुनःप्रतिस्थापन गरिएको हो । चैत्यको आसपास क्षेत्रमा रहेका प्रतापपुर र शान्तिपुर मन्दिरले पनि त्यस क्षेत्रमा विशेष सौन्दर्य थपेको छ । यसअघि यी दुवै सम्पदाको पनि मर्मत गरिएको थियो । 

    संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपस्वी बुद्ध आएको बौद्ध धर्मावलम्बीको विश्वास छ । मन्दिर तथा त्यस वरपर क्षेत्रबाट काठमाडौँ उपत्यका राम्रोसँग देख्नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक यस मन्दिरको अवलोकन गर्न आउने गर्दछन् ।

आइतबार​ १ पुस २०८० ०२:४१ PM मा प्रकाशित

प्रतिक्रिया