×

फ्रान्सका विदेशमन्त्रीद्वारा ‘तत्काल र टिकाउ’ गाजा युद्धविरामको आह्वान

images


फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र टिकाउ’ युद्धविरामका लागि दबाब दिनुभएको छ । उहाँले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको बताउनुभयो । 

    कोलोनाले तेल अविवमा आफ्ना इजराइली समकक्षी एली कोहेनसँगको टिप्पणीका क्रममा भन्नुभयो, “अत्यन्त धेरै सर्वसाधारण मारिएका छन्, अक्टोबर ७ को हमलापछि इजराइलले आक्रामकरूपमा दबाब दिँदा सम्पूर्ण क्षेत्रमा तनाव बढेको छ ।” 

    इस्लामिक लडाकू समूह हमासका अनुसार गाजामा युद्धविरामका लागि इजराइल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ । गाजामा हमासविरुद्धको युद्धमा अधिकांश महिला र बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ । इजराइली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो । हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो 

    मन्त्री कोलोनाले यौन हिंसामा परेकालगायत हमासको हमलाका पीडितहरूलाई बिर्सन नहुनेमा जोड दिनुभयो । “भन्नु पर्दैन, फ्रान्स यी पीडित महिलाहरूको कुरामा विश्वास गर्छ”, हमासको हमलाका क्रममा व्यापक यौन उत्पीडनको आरोपका बारेमा उहाँले भन्नुभयो, “बलात्कार, अङ्गभङ्ग र यो अपवित्रता देख्नुपरेका मानिसहरूसँग फ्रान्सले विश्वास गर्छ ।”

    यसैबीच मन्त्री कोहेनले लेबनानमा युद्ध रोक्नका लागि फ्रान्सले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । इजराइल दक्षिणी लेबनानमा सशस्त्र समूह विशेषरूपमा शक्तिशाली इरान समर्थित हिजबुल्लाह समूहसँग नियमितरूपमा सीमापार गोलीबारीमा सामेल भएको छ । 

    “इजराइलको उत्तरी सीमामा अर्को मोर्चा सुरु गर्ने कुनै मनसाय छैन तर हामी आफ्ना नागरिकहरूको सुरक्षाका लागि जे गर्नुपर्छ त्यो गर्नेछौँ”, कोहेनले भन्नुभयो ।

आइतबार​ १ पुस २०८० ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया