×

सत्ता चलाउने कानुनले हो, भीडले होइन- गृहमन्त्री रमेश लेखक

images

बुटवल। गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको साथै शासन भीडले नभई कानुनले चल्ने बताएका छन् । मंगलबार रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘लोकतन्त्रको पहिलो सर्त शान्ति सुरक्षा हो। हामीले शान्ति सुरक्षा दिन सक्यौं भने नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्नुहुन्छ। संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासको ग्यारेन्टी हुन्छ,’ गृहमन्त्री लेखकले भने।लुम्बिनी प्रदेशको विशेष महत्त्व रहेको उनको भनाइ छ।

साथै गृहमन्त्री लेखकले पछिल्लो समय साइबर क्राइम बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए । पछिल्लो समय आर्थिक र वित्तीय अपराध बढेको, ठगीका घटना बढेको, रकम अपचलनमा लिप्त हुनेहरू संगठित हुन थालेको र त्यसलाई भीडले ढाकछोप गर्ने प्रयास भइरहेको बताए । ‘सत्ता चलाउने कानुनले हो, भीडले होइन,’ उनले भने, ‘पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भीडले प्रभावित गर्ने प्रयास भइरहेको छ । त्यो नियन्त्रण हुनै पर्छ,’ उनले भने, ‘यस्तो समाजलाई दुषित गारउने तत्वको संरक्षण कुनै पनि अवस्थमा स्वीकार्य हुँदैन् ।’

संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ, त्यसका लागि पनि यस्ता गोष्ठी महत्त्वपूर्ण हुने उनले बताए । उनले शान्ति सुरक्षा खलबलिने वित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वसर्त नै शान्तिसुरक्षा रहेको बताए । उनले संविधानको सही कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।

गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास र समृद्विका लागि पनि शान्तिसुरक्षा अनिवार्य सर्त रहेको बताए । सीमा क्षेत्रको तस्करी र राजश्व चुहावट रोक्न पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । ‘हाम्रो धार्मिक, सांस्कृतिक मात्र होइन विश्व शान्तिको जोति छर्ने ठाँउ हो, उनले भने। गोष्ठीहरु औपचारिकतामा सीमित हुने गरेको भन्दै गोष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुहुनुपर्ने गृहमन्त्री लेखकले बताए।

यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन हाम्रो जिम्मेवारी भएको उनले बताए। ‘हाम्रो संविधानमा नागरिकका ३२ वटा मौलिक हक छन्। त्यसको प्रत्याभूत गराउने काम हाम्रो हो। यसका लागि शान्ति सुरक्षाको कुरा आउँछ,’ गृहमन्त्री लेखकले भने।

लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै गृहमन्त्री लेखकले सीमानमा हुने तस्करी तुरुन्त रोक्न निर्देशन दिए। ‘सीमापार अपराधको नियन्त्रण हुनुपर्यो। यो परिणाम देखिने गरि काम हुनुपर्छ,’ उनले भने, ‘लागू औषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नु होला।’

साइवर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताए। यस्तै फरक प्रसंगमा कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेको भन्दै यो समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेको बताए। ‘सरकार बन्नेवित्तकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने वित्तिकै मन्त्री हट्छन भन्ने हल्ला चलाइन्छ । यो समीकरण ८४ सालसम्मै जान्छ,’ उनले भने।

मङ्गलबार २ पुस २०८१ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया