×

साढे १२ अर्ब शोधनान्तर बचतमा, चालू खाता घाटा कम हुँदै

images

काठमाडौं । कोरोनाकाल यता क्रमिक रूपमा अप्ठ्यारोमा पर्दै आएको नेपालको अर्थतन्त्र असोजमा आएर केही सुधार भएको छ । नेपालमा भित्रिने विदेशी मुद्राभन्दा बढी बाहिरिने क्रम चलेकोमा गत असोजमा विदेशी मुद्रा बढी भित्रिएकाले अर्थतन्त्र सकारात्मक देखिएको हो ।

जसले गर्दा विगतमा घाटामा रहेको शोधनान्तर स्थिति पहिलोपटक बचतमा आएको छ । गत असोज महिनामा शोधनान्तर स्थिति करिब साढे १२ अर्ब ४३ करोडले रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकका तथ्यांकले देखाएको छ ।

गत वर्षको असोजमा शोधनान्तर स्थिति ७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेकोमा अहिले आएर अमेरिकी डलरमा मात्र हेर्ने हो भने ९ करोड १ लाखले बचतमा रहेको छ । शोधनान्तर सुधार हुनुको पछाडि सरकारले आयातमा लगाएको प्रतिबन्ध तथा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिनु हो ।

तीन महिनामा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव १ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव १ प्रतिशतले घटेको थियो ।

गत असोज मसान्तसम्ममा चालू खाता पनि ३४ अर्ब २८ करोड रुपैयाँले मात्र घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४९ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालू खाता चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २७ करोड रुपैयाँले घाटामा रहेको छ । यो दौरानमा नेपालले वैदेशिक ऋण नलिएकाले र तिर्नुपर्ने रकम तिर्दै गएकाले चालू खाता घाटा कम हुँदै गएको हो ।

राजस्वमा कमी, पर्यटक आगमनमा कमी, वैदेशिक सहायता कम हुँदै गइ बजेट घाटामा गएको खण्डमा सरकारले पुनः वैदेशिक सहायता बढाउनुपर्ने स्थिति आयो भने चालू खाताको घाटा बढेर जानेछ ।

अहिले सरकारले विकास निर्माण खासै नगरेको र वजेटमा विनियोजन गरेबमोजिमको कर्जा तिर्दै चालु खाता कम हुँदै गएको हो । सरकारले चालू आवको बजेटमा ४ खर्ब ऋण लिने घोषणा गरिसकेको छ । राजधानी दैनिकबाट

बिहीबार १ मंसिर २०७९ ०६:५५ AM मा प्रकाशित

प्रतिक्रिया