×

कांग्रेसबाट प्रधानमन्त्री बन्ने पालो अब मेरै हो- नेता प्रकाशमान सिंह

images

काठमाडौं । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । संसदमा छँदा काठमाडौं क्षेत्र नम्बर १ को शीर निहुराउने गरी आफूले कहिल्यै काम नगरेको स्पष्ट गर्दै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः आफूलाई जिताउन आग्रह गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

आफ्नो प्रतिबद्धतापत्रमा सिंहले संघीय तहमा गर्ने काम, प्रदेश तथा स्थानीय तहमा गर्ने काम र समग्र काठमाडौं क्षेत्र नम्बर १ मा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । देशको विकास, समुन्नति र सुशासनका लागि कांग्रेसको दृष्टिकोण र संविधानले परिकल्पना गरेको समतामूलक लोकतान्त्रिक समाज निर्माण गर्न ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ को मूल नारासहित राष्ट्रलाई निकास र क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा आएको उनको भनाइ छ । साथै पत्रकार सम्मेलनपछि सिंहले प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताए । भावी प्रधानमन्त्रीमा कांग्रेसबाट तपाईँको दाबी हो की होइन भन्ने प्रश्नमा उनले घुमाउरो ढंगबाट जवाफ दिए । पहिले सांसद निर्वाचित भएपछि मात्रै यो विषयमा खुलेर भन्न सकिने उल्लेख गर्दै उनले आफूसँग प्रधानमन्त्रीका लागि आवश्यक ‘योग्यता’ भएको बताए ।

उनले भने, ‘हरेक कुराको समय आएपछि डिसाइड हुन्छ । संसदीय अभ्यासमा पहिले सांसद चुन्नुपर्‍यो । त्यसपछि संसदीय दलको बैठक बस्छ । त्यसमा देशभरिबाट आएका सांसदका बीचमा अहिलेको समयमा कसलाई नेतृत्व दिने भन्ने हुन्छ । त्यो समयमा हुने हो । क्राइटेरिया हेर्ने हो भने म पटक पटक मन्त्री भएर उपप्रधानमन्त्री, सांसद भइसकेको मान्छे हु नि त । संसद्मा उप नेता भएका मान्छे हुँ । ७४ को निर्वाचनपछि म त दलको नेतृत्वको लागि प्रतिस्पर्धा गरेको व्यक्ति हुँ नि त । अब त्यसैबाट अनुमान लगाउनुहोस् ।’  

प्रतिवद्धता सार्वजनिक गर्दै भनेका छन्, ‘२०४८ देखि संविधान कम्युनिस्ट दल विजयी भएका थिए । २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु सुरु गरेकोे हो ।’ मतदाताकै विश्वासका कारणले आफू यो क्षेत्रमा चोथौपटक उम्मेदवार बनेको उनले सुनाए । चुनिएर गएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको भन्दै उने भने, ‘यहाँका नागरिकले अपेक्षा गरेका र गर्न सकिने कार्य गरेका कारणले पटक पटक विजयी हुँदै आएको छु ।’

सोमबार ३१ असोज २०७९ ०४:१३ PM मा प्रकाशित

प्रतिक्रिया