काठमाडौँ, २८ असोज २०८३- एक महिलामाथि अश्लील गालीगलौज, धम्की तथा ब्ल्याकमेकिङ गरेको आपत्तिजनक अडियो सार्वजनिक भएपछि गम्भीर विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि निर्मम छानबिन गर्न माग गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सुनारले आफू दोषी देखिए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट समेत बर्खास्त गर्न चुनौती दिएका हुन् ।
पार्टीले उनीमाथि आन्तरिक छानबिन सुरु गर्दै सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको भोलिपल्टै सुनारले फेसबुकमा लेखेका छन्, “प्रश्न म माथि उठेको प्रश्न हो। यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी र सरकार सती जानु पर्दैन ।”
‘आवश्यक परे सांसद र केन्द्रीय सदस्यबाट बर्खास्त गरियोस्’
बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद सुनारले आफूमाथि लागेका आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म माथि निर्मम छानबिन गरियोस्, आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस् ।” यसअघि सुरुमा उक्त अडियो आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रयोग गरेर बनाइएको नक्कली सामग्री भएको दाबी गरेका सुनारले बुधबारको पोस्टमा भने ‘कुकर्म’ शब्दको प्रयोग गरेपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ ।
महिलामाथिको आक्रमणप्रति भने आपत्ति
सांसद सुनारले आफूमाथि अनुसन्धान र कारबाही हुन तयार रहेको दोहोर्याए पनि घटनामा जोडिएकी महिला (बागमती प्रदेशकी पूर्वराज्यमन्त्री) माथि सामाजिक सञ्जालमा भइरहेको गालीगलौज र व्यक्तिगत आक्रमणप्रति भने आपत्ति जनाएका छन् । “छानबिन र कारबाही ममाथि होस्, तर महिलामाथि आक्रमण मान्य छैन,” भन्दै उनले पीडित पक्षको गोपनीयता र सम्मानको ख्याल गर्न आग्रह गरेका छन्।
रास्वपाद्वारा प्रमाण सङ्कलन र स्पष्टीकरणको तयारी
यता रास्वपाको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारबारे सञ्चारमाध्यममा आएका सामग्री र अडियोलाई आधार मानेर प्राविधिक प्रमाण सङ्कलनको काम तीव्र पारेको छ । अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार अडियोको सत्यता परीक्षण र पीडित भनिएकी महिलासँग बुझ्ने काम भइरहेको छ ।
पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पनि अडियो प्रमाणित भएमा दल एउटा व्यक्तिको पछाडि सती जान नसक्ने धारणा सार्वजनिक गरिसकेका छन्। रास्वपाले सुनारलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाइसकेको छ भने छानबिन नसकिँदासम्म उनलाई पार्टी र सार्वजनिक कार्यक्रममा पूर्ण रूपमा रोक लगाइएको छ ।
यस्तो छ खगेन्द्र सुनारको पूरा प्रतिक्रिया
प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानविन गरियोस् । आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् । म र मैले गरेको कुनै पनि कु–कर्मको पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु । मैले गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु । तर राजनीतिक, सामाजिक रुपमा काम गरिरहेकी एक निर्दोष महिला माथि जुन ढङ्गबाट मिडिया ट्राईल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियो जोडी टिका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन । आरोपमा भनिएको छ मैले दु:ख दिए । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दु:ख दिएको थियो रे भन्ने काल्पनिक बुझाईमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ? म बाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी म माथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो ? समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो ? प्रहरीको हेडक्वाटर, ऋक्ष्द्य ले बार–बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफै मुद्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटना क्रम भएको हो । खैर केही छैन । मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा म माथि प्रश्न गर्नै नपाइने भन्ने होईन । प्रश्न: उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्यक आरोपको सत्य–तथ्य छानबिन होस् । तर, उहाँ महिला माथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्ति जनक छ । जे कारबाही हो म माथि होस् – मलाई स्वीकार छ । उहाँ माथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।
प्रतिक्रिया