काठमाडौं, असोज ३० । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ अन्तर्गत नवरात्रको छैटौं दिन आज नवदुर्गा भवानीको छैटौं रूप देवी कात्यायनीको विशेष पूजा-आराधना र दर्शन गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन अनुष्ठान गरिने कात्यायनी पूजाको विशेष धार्मिक, आध्यात्मिक र सांस्कृतिक महत्त्व रहेको छ।
सिंहमाथि सवार हुने, चार हात भएकी र देवीहरूमध्ये अत्यन्तै तेजस्वी र शक्तिशाली मानिने कात्यायनी माताको स्वरूप कल्याणकारी छ। पौराणिक मान्यता अनुसार, कत नाम गरेका महर्षिका छोरा कात्य ऋषिले भगवती दुर्गालाई पुत्रीका रूपमा पाउनका लागि लामो समयसम्म कठोर तपस्या गरेका थिए। उनको तपस्याबाट प्रसन्न भई आदिशक्ति भवानीले कात्य ऋषिको आश्रममा पुत्रीका रूपमा जन्म लिएकाले यिनको नाम 'कात्यायनी' रहन गएको हो।
दैत्यराज महिषासुरको अत्याचारबाट तीनै लोकलाई मुक्ति दिलाउनका लागि ब्रह्मा, विष्णु र शिवको तेजबाट प्रकट भएकी देवी कात्यायनीले नै महिषासुरको वध गरेकी थिइन्। त्यसैले यिनलाई 'महिषासुरमर्दिनी' पनि भनिन्छ।
पूजा विधि र चढाउनुपर्ने सामग्रीहरू
आजको दिन माता कात्यायनीलाई प्रसन्न पार्न भक्तजनहरूले बिहानै स्नान गरी सफा कपडा (विशेषगरी रातो वा पहेलो) लगाएर पूजा सुरु गर्छन्।
चंद्रहासोज्ज्वलकरा शार्दूलवरवाहना।
कात्यायनी शुभं दद्याद् देवी दानवघातिनी॥
फल र जनविश्वास
शास्त्र अनुसार, आजको दिन निष्ठापूर्वक कात्यायनी देवीको पूजा गर्नाले मानिसले रोग, शोक, भय र संकटबाट मुक्ति पाउँछ। यसैगरी, विवाह हुन लागेका वा विवाहमा ढिलाइ भइरहेका कन्याहरूले आफूले चिताएको सुयोग्य वर पाउनका लागि देवी कात्यायनीको व्रत बस्ने र आराधना गर्ने विशेष परम्परा रहेको छ।
आज काठमाडौं उपत्यकाका गुह्येश्वरी, भद्रकाली, नक्साल भगवती, शोभाभगवतीका साथै देशभरका प्रमुख शक्तिपीठहरूमा माता कात्यायनीको दर्शन र पूजाका लागि श्रद्धालु भक्तजनहरूको बिहानैदेखि ठूलो घुइँचो लागेको छ।
प्रतिक्रिया