×

कांग्रेसभित्र बढ्दो विभाजनप्रति डा. शेखरको चिन्ता: 'बीपीको आदर्श आत्मसात् गरेर एकढिक्का बनौँ'

images

काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीभित्र मौलाउँदै गएको आन्तरिक गुटबन्दी र तीव्र विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल एकताको बाटो खोज्न आह्वान गरेका छन्। बिहीबार एक विशेष प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले पार्टीको आसन्न महाधिवेशन, आन्तरिक साङ्गठनिक अवस्था र मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।

संस्थापकको आदर्शबाट विचलित भएको टिप्पणी जारी विज्ञप्तिमा डा. कोइरालाले कांग्रेस आफ्नो ऐतिहासिक विरासत, नीति र मूल आदर्शबाट पछिल्लो समय विचलित हुँदै गएको कठोर टिप्पणी गरेका छन्। पार्टीको वर्तमान अवस्थालाई चित्रण गर्दै उनले भनेका छन्, "कांग्रेस आज आन्तरिक रूपमा विभाजित र गन्तव्य हराएको माझीझैँ बनेको छ।" यस जटिल अवस्थाबाट पार्टीलाई जोगाउनका लागि संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) को राजनीतिक, नैतिक र वैचारिक दर्शनलाई पुनः आत्मसात् गर्दै एकढिक्का हुनुको विकल्प नरहेकोमा उनले जोड दिएका छन्।

नागरिकको पीडामा नेतृत्व संवेदनहीन भएको आरोप डा. कोइरालाले देशका विभिन्न भागमा आएको प्राकृतिक प्रकोप र त्यसबाट सिर्जित नागरिकका दुःखप्रति पार्टी नेतृत्व उदासीन रहेको भन्दै असन्तुष्टि जनाएका छन्। विशेष गरी रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा बाढी-पहिरो र प्राकृतिक विपद्का कारण सर्वसाधारण नागरिकहरू ठूलो पीडामा परेका बेला पार्टी नेतृत्वले मानवीय संवेदना देखाउन नसकेको उनको आरोप छ। जनता शोक र सङ्कटमा रहेका बेला उनीहरूलाई राहत र मलम पट्टी लगाउनुको साटो पार्टी नेतृत्व केवल विधानका धारा र साङ्गठनिक झन्झटमा अल्झिरहनु अत्यन्तै दुखद् र गैरजिम्मेवारपूर्ण भएको उनले उल्लेख गरेका छन्।

गुटबन्दीले लोकतन्त्रलाई नै क्षति पुग्ने चेतावनी पार्टीभित्र झाङ्गिँदै गएको गुट-उपगुटको आन्तरिक खिचातानाले नेपाली कांग्रेसलाई मात्र नभई देशको समग्र राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनलाई नै कमजोर बनाउने चेतावनी डा. कोइरालाले दिएका छन्। आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ बनाउनुपर्नेमा जोड दिँदै उनले भनेका छन्, "पार्टीभित्र कसैलाई हराएर, पाखा लगाएर वा अपमानित गरेर जितको उत्सव मनाउनु कांग्रेसको लोकतान्त्रिक संस्कृति होइन।"

एकता अभियानमा जुट्न अपिल विवाद र आरोप-प्रत्यारोपको राजनीतिबाट माथि उठेर मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न उनले सम्पूर्ण नेता-कार्यकर्तालाई आग्रह गरेका छन्। आफू नेपाली कांग्रेस र लोकतन्त्रलाई सफल बनाउन सधैँ प्रतिबद्ध सिपाहीका रूपमा क्रियाशील रहने स्पष्ट पार्दै उनले गाउँस्तरदेखि प्रवास (विदेश) सम्म रहेका सम्पूर्ण कांग्रेस कार्यकर्ताहरूलाई पार्टी एकताको अभियानमा एकजुट हुन आह्वान गरेका छन्। साथै, पार्टीका आम कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्न आफू छिट्टै गाउँ-घर र बस्तीहरूमा पुग्ने प्रतिबद्धतासमेत डा. कोइरालाले व्यक्त गरेका छन्।

बिहीबार १ असोज २०८३ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया