काठमाडौं — गत १० भदौमा रसुवामा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। उक्त बाढीलाई परराष्ट्रमन्त्री शिशिर खनालले ‘हिमालयन सुनामी’को संज्ञा दिएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले यस विपद्ले नेपालले विगत २०-२५ वर्षदेखि निर्माण गर्दै आएको समृद्धिको न्यारेटिभमा नै गम्भीर धक्का पुर्याएको बताए। सरकारका अनुसार यो क्षति मुख्यतया जलवायु परिवर्तनका कारण भएको निष्कर्ष निकालिएको छ र यसबारे थप अध्ययन भइरहेको छ।
मन्त्री खनालका अनुसार नेपालको समृद्धिको विषय एकदमै बढी रिभर कोरिडोर, हिमालयन रिभर कोरिडोरसँग जोडिएको छ । उत्तर दक्षिणका मेजर बाटोहरुको परिकल्पना रिभर कोरिडोर सँग जोडिएको छ ।
उनी थप्छन्, ‘हामीले दुई देशको, दुइटा छिमेकी देशमा बसेर जुन ब्रिजको परिकल्पना गरिराख्या छौं । त्यसको पनि कनेक्टिभिटीको मेजर लाइफलाइन रिभर कोरिडोर सँग जोडिएको छ ।’
पछिल्ला ३०/४० वर्षको अवधिमा नेपालको बस्ती विकास र बजार विकास पनि रिभर कोरिडोरका बेसिनहरूमा जोडिएको उनले बताए ।
नेपालको समृद्धिसँग जोडेको हाइड्रोपावरको विषय पनि अल्टिमेट्ली नदीमा हुने नै भयो । बिजुली उत्पादन गरेर त्यसको प्रयोग अथवा त्यसको निर्यातबाट नेपालले जुन समृद्धिको सपना देखेको छ यो पनि हिमालयन रिभर कोरिडोरसँग जोडिएको छ ।
आगामी साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिका जाँदैछ। सोही पृष्ठभूमिमा संसदीय समितिले जलवायु परिवर्तनका विज्ञहरूसँग विशेष छलफल आयोजना गरेको हो।
बैठकमा नेपालले भोगिरहेको जलवायु जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तका विषयमा गहन छलफल भएको थियो। मन्त्री खनालले महासभाको मञ्चलाई नेपालको कूटनीतिक प्राथमिकता र जलवायु मुद्दा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा प्रयोग गरिने बताए। साथै, हिमाली क्षेत्रमा भएका अध्ययन-अनुसन्धानलाई एकीकृत गरी एउटा बलियो र स्पष्ट 'नेसनल पोजिसन' बनाउनुपर्नेमा उनले जोड दिए।
प्रतिक्रिया