हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा विश्वासको मत लिन सम्बोधन गर्ने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्।
सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रदेशसभामा बहुमत नपुग्ने सुनिश्चित भएपछि बानियाँले मत विभाजनको प्रक्रियामा नगई राजीनामा दिने निर्णय गरेका हुन्। राजीनामाको घोषणा गर्नुअघि उनले आफ्नो एक वर्षे कार्यकालका प्रमुख उपलब्धि र २८ बुँदे प्रगति विवरण सभासमक्ष प्रस्तुत गरेका थिए।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार जोगाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, मुख्यमन्त्री बानियाँको पक्षमा आफ्नै दल नेपाली कांग्रेस र हाम्रो नेपाली पार्टीका गरी कुल ३८ सांसदको मात्रै समर्थन रहेको थियो। विपक्षी गठबन्धन बलियो बनेपछि राजनीतिक निकासका लागि राजीनामा दिएको मुख्यमन्त्री बानियाँले बताए।
बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको ढोका खुलेको छ। नयाँ सत्ता समीकरणका लागि नेकपा एमाले र अन्य विपक्षी दलहरूबीच छलफल अगाडि बढेको छ।
प्रतिक्रिया