काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जे पायो त्यही बोल्दै हिँडेको टिप्पणी गरेका छन् । आज (सोमबार) दाङको घोराहीमा नेकपा (एमाले) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले विहानै, बेलुकै सरकार ढल्छ भनेर हिँडिरहेको बताएका हुन् ।
‘सरकार ढल्छ’ भन्ने प्रचण्डको थेगो नै बनिसकेको उनको टिप्पणी छ । कांग्रेस र एमालेको वर्तमान समीकरण अब तीन वर्षसम्म चल्ने बताउँदै उनले विहानै बेलुकै सरकार ढल्ने कुरा नभट्याउन आग्रह गरे ।
‘आजकाल माओवादी नेता प्रचण्डजी धेरै आत्तिनु भएको छ । के भएको हो उहाँलाई ? बोल्ने कुरा पनि बोल्नुहुन्छ, नबोल्ने कुरा पनि बोल्नुहुन्छ । जे पनि बोल्नुहुन्छ । अहिले नै सरकार जान्छ, भरे नै ढल्छ, राति नै ढल्छ भनेकोभन्यै हुनुहुन्छ,’– उनले भने ।
प्रधानमन्त्री ओलीले आफू राष्ट्रियता मजबुद बनाउन लागिपरेको बताए । उनले पूर्वप्रधानमन्त्री प्रचण्डलक्षित गर्दै विदेशीका लागि काम गर्ने तत्वहरुलाई किनारा लगाइने बताए । ‘अहिलेको समीकरण देशमा स्थिरता ल्याउन र देशलाई स्थिरता दिएर विकासको बाटोमा जान, हामी हाम्रो राष्ट्रियतालाई सुदृढ बनाउँछौं, बलियो बनाउँछौं । देशमा विकास आवश्यक छ, त्यसका लागि शान्ति, स्थिरता र स्थायित्व चाहिन्छ । हामी राष्ट्रियतालाई मजबुद बनाउँछौं । विदेशीका लागि काम गर्ने तत्वहरु किनारा लाग्छन् र लगाइन्छ । हाम्रो राष्ट्रियता हामीलाई प्यारो छ । हामीलाई विकास प्यारो छ,’– प्रधानमन्त्री ओलीले भने ।
साथै, गणतन्त्र ल्याउनमा प्रचण्डको कुनै योगदान नै नरहेको प्रधानमन्त्री ओलीको दाबी छ । वर्तमान व्यवस्थाको लागि एमाले र कांग्रेसलगायतका शक्तिहरुले संघर्ष गरिरहेको बेलामा प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्रलाई भेटेर सम्झौता गरेको ओलीको आरोप छ । ‘गणतन्त्रका लागि कहिले लडेका थियौं ? राजासँग सम्झौता गरेर, राजासँग साँठगाँठ गरेर सहमति गरेको होईन । एमाले–कांग्रेस प्रजातान्त्रिक शक्तिहरुलाई सिध्याएर, सधैंका लागि राजा चाहिन्छ भनेर लिखित गरेको होईन ?’ प्रश्न गर्दै उनले भने ।
प्रचण्डले २०६० साल पुस १९ गते राति १ बजे दरबारमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग सम्झौता गरेको प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले बकवास नगर्न प्रचण्डलाई चेतावनी दिए । बढी बोल्दै गएको खण्डमा षड्यन्त्रहरु पर्दाफास गरिदिने उनको चेतावनी छ । ‘राजतन्त्र सधैं रहने, प्रचण्डलाई शासन बुझाउनुपर्ने, प्रचण्डले राजतन्त्रको रक्षा गर्ने, प्रचण्डले आफ्ना लडाकु राजाको पनि बनाइदिने सम्झौता गरेको होईन ? त्यस्ता निर्लज्ज मान्छेहरुले लोकतन्त्रको हामीलाई दुहाई दिने ? म तथ्यका आधारमा बोलिरहेको छु् । म प्रचण्डजीलाई भन्न चाहन्छु– यस्ता वकवास कुरा लाएर नहिँड्नुस्, अरु धेरै उहाँको षड्यन्त्रको पर्दाफास गर्न नपरोस्,’– ओलीले भने ।
प्रतिक्रिया