×

हङकङलाई जितको लागि ५७ रनको लक्ष्य

images


काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले खेलको १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनायो ।  

नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

सीता रानामगरले ९ रन जोडिन् भने रोमा थापाले ७ रन बनाइन् । त्यस्तै नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् । 

तेस्रो नम्बर ब्याटिङ गर्न आएकी सम्झना खड्कालाई नेपालले दोस्रो विकेटका रूपमा  गुमायो । उनी एक रन जोड्दै आउट भइन् । चौथो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन् । पाँचौँ नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दु बर्मा पनि शून्य रनमै आउट भइन् । 

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन् । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एक/एक विकेट लिए । 

नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।
 
चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । हङकङ अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 
–––

बिहीबार ३० कात्तिक २०८० ०१:४५ PM मा प्रकाशित

प्रतिक्रिया