×

भोलिदेखि म्यानपावरमा ताला लाग्ने: नयाँ विज्ञापन, अन्तर्वार्ता र पूर्व-निर्धारित उडान सबै बन्द

images

काठमाडौँ, ३१ साउन । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसमक्ष राखेका आफ्ना मागहरू पूरा नभएको भन्दै भोलि (सोमबार) देखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

सङ्घले म्यानपावरका कार्यालयहरू बन्द गर्नुका साथै वैदेशिक रोजगारीको अन्तिम चरणमा पुगेका र भिसा आइसकेका श्रमिकहरूलाई समेत विदेश नपठाउने (उडान रोक्ने) कडा निर्णय गरेपछि हजारौँ नेपाली श्रमिकहरू प्रभावित हुने भएका छन् ।

सङ्घका महासचिव हीराबहादुर डाँगीद्वारा जारी विज्ञप्ति अनुसार भोलिदेखि काठमाडौँस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन् । आन्दोलनका क्रममा व्यवसायीहरूले निम्न सेवाहरू पूर्ण रूपमा रोक्ने जनाएका छन्:

वैदेशिक रोजगारीका लागि गरिने नयाँ विज्ञापन तथा अन्तर्वार्ता 
सम्पूर्ण रिक्रुटिङ र प्रशासनिक प्रक्रियाहरू 
पूर्व–निर्धारित सम्पूर्ण श्रमिकहरूको उडान (फ्लाइथ्रु)
वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम–कारोबार 

यसअघि नै चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति र भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको सङ्घले अब जारी भइसकेका श्रम स्वीकृतिको समयसीमा सकिएसँगै पूर्ण रूपमा काम ठप्प पार्न लागेको हो ।

सङ्घका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार व्यवसायीहरूको मुख्य माग वैज्ञानिक सेवा शुल्क (सर्विस चार्ज) को पुन: निर्धारण गर्नु रहेको छ। यसका साथै वैदेशिक रोजगार विभागले विभिन्न ७ सय ७१ वटा म्यानपावर कम्पनीमाथि गरेको कारबाही फिर्ता लिनुपर्ने र व्यवसायीको पेसागत अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका १५ बुँदे मागहरू अघि सारिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोलीसँग शुक्रबार प्रारम्भिक चरणको छलफल भए पनि मन्त्रीस्तरमा ठोस वार्ता हुन नसकेको र सरकार व्यवसायीका समस्याप्रति गम्भीर नदेखिएको सङ्घको आरोप छ।

सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न स्पष्ट निर्देशन दिएको छ । यदि कसैले यो निर्णयको अवज्ञा गरेमा भविष्यमा सङ्घबाट प्राप्त हुने सहयोग र संरक्षणबाट वञ्चित गरिने तथा आगामी समीक्षा भेलाबाट थप कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ । यद्यपि, सरकारसँग ठोस सहमति जुटेमा आन्दोलन जुनसुकै बेला फिर्ता हुन सक्ने भन्दै सङ्घले वार्ताको ढोका भने खुला राखेको जनाएको छ ।

 

आइतबार​ ३१ साउन २०८३ ०८:४२ PM मा प्रकाशित

प्रतिक्रिया