×

वाग्मती सफाइ सुरू भएको १२ वर्षपछि मुहानस्थल वाग्द्वारमा सफाइ

images

काठमाडौँ, २ असारः वाग्मती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको मुहानस्थल वाग्द्वारमै पुगेर पहिलोपटक सफाइ गरिएको छ । 

माथिल्लो वाग्मती सफाइ अभियानको ५३९औँ हप्ता र मुहान सफाइ अभियानको चौथो हप्ताका अवसरमा  हिजो नदीको मुहानस्थल वाग्द्वार पुगेर अभियानकर्मीको समूहले सफाइ गरेको हो । सुन्दरीजलबाट करिब चार घण्टाको दूरीमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बाटो वाग्द्वार पुगेर करिब एक सय ५० जना अभियानकर्मीले सफाइ गरेका हुन् । 

सुन्दरीजलबाट माथि लागेपछि नै निकुञ्जबीचको सडक दायाँबायाँ पानीका बोत्तल, प्लाष्टिकलगायत फोहर फालेको दृश्य देखिन्थ्यो । अभियानकर्मीले यो फोहरसमेत टिप्दै हिँडेका थिए । सफाइमा वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्याल, मुहान क्षेत्रको सफाइका लागि विशेष अभियान चलाउनुभएका बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल, माथिल्लो वाग्मती सफाइ अभियानका उत्तम पुडासैनी, मानवअधिकार तथा शान्ति समाज काठमाडौँका अध्यक्ष भगवान् पुडासैनीलगायत अभियानकर्मीको नेतृत्वमा मुहान क्षेत्रको विशेष सफाइ गरिएको हो । 

मुहान क्षेत्र वाग्द्वारको सफाइ गर्नुअघि वैदिक विधिअनुसार वाग्मतीको मुहान सफा राख्ने सङ्कल्पसहित पूर्वमुख्यसचिव पौडेल, अभियानकर्मी पोखरेल र पुडासैनीले सबै अभियानकर्मीको प्रतिनिधित्व गर्दै पूजा गर्नुभएको थियो । स्थानीय पण्डित दण्डपाणि खनालले पूजा गराउनुभएको थियो । केही वर्षअघिसम्म पानीको पोखरी भएको स्थलमा गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले सिमेन्ट प्रयोग गरेर बनाएको पोखरीमा पानी नहाली यत्तिकै रहेको छ । स्थानीयवासीका अनुसार यहाँ पानी आउने बाटो नै बन्द भएको छ । 

वाग्द्वारबाट खसेको पानी नालीबाट नदीमा आउने अवस्था मुहानमै बनेको छ । यहाँका दुई स्थानीय तहको बजेटले यो संरचना बनिसकेपछि सञ्चालन भए÷नभएको अनुगमन पनि कसैले गरेका छैनन् । सफाइ अभियानलाई सम्बोधन गर्दै पूर्वमुख्यसचिव पौड्यालले आफू २०७३ सालमा आएको भन्दा अहिले मुहानमै कम पानी देखिएको बताउनुभयो ।

वाग्द्वार क्षेत्रमा गरेको फोहर खानेपानीमार्फत काठमाडौँ उपत्यकावासीका घरघरमा पुग्ने भएकाले यस क्षेत्रको सफाइमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । मानिसमा जागरण आउनेगरी सफाइ महाअभियानले फेरि वाग्द्वारबाट चोभारसम्म पदयात्रा गर्नुपर्ने सफाइ महाअभियानको नेतृत्व गर्दै आउनुभएका पौड्यालले सुनाउनुभयो ।
 
 सफा अभियानकर्मी पोखरेलले १२ वर्षसम्म वाग्मती सफाइ महाअभियान जारी हुँदा पनि मुहान क्षेत्रको सफाइ हुन नसकेकाले आजको कार्यक्रम राख्नुपरेको बताउनुभयो । वाग्मती गङ्गामा नमिसिँदासम्म नाम परिवर्तन नहुने भएकाले यसको महत्व रहेको भनाइ उहाँले राख्नुभयो । 

 माथिल्लो वाग्मती सफाइ अभियानका अभियानकर्मी पुडासैनीले मुहानदेखिकै फोहर सङ्कलन गरेर स्रोतमै व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । धर्तीलाई बचाएपछि नै मानिसको जीवन रहने भएकाले ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने भावनालाई आत्मसात् गरेर सबैले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

पछिल्लो समय वाग्मतीको मुहान क्षेत्रमै सफाइको अभियान चलेको पनि आज एक महिना पूरा भएको छ । यो अभियानलाई पनि अब निरन्तर रूपमा जारी राखिने जनाइएको छ ।

आइतबार​ ३ असार २०८१ ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया