×

युएईमा क्षेत्री समाज गठन, कृष्ण ढकालको नेतृत्वमा पहिलो अधिवेशन सम्पन्न

images

फलेन्द्र मगर / दुबई 
जुन-१६ युएईमा करिब साढे तीन दशकदेखि रोजगारीको सिलसिलामा बसोबास गर्दै आउनुभएका कास्की निवासी तथा लामो समयदेखि विभिन्न सामाजिक गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्दै समाजसेवामा सक्रिय व्यक्तित्व कृष्ण ढकालको नेतृत्वमा “क्षेत्री समाज, युएई” गठन भएको छ।

जुन १४ मा सम्पन्न भएको संस्थाको पहिलो ऐतिहासिक अधिवेशनबाट कृष्ण ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। युएईको सबैभन्दा पुरानो सामाजिक संस्था नेपाली समाज, युएईका पूर्व अध्यक्षसमेत रहनुभएका ढकालले प्रवासमा रहेका क्षेत्री समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ क्षेत्री समाज, युएईको स्थापना गरिएको बताएका छन्।  

अधिवेशनमा युएईका विभिन्न अमिरातमा रहेका नेपाली समुदायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रवासी नेपालीबीच आपसी सद्भाव, एकता र सहकार्यलाई मजबुत बनाउन नवगठित संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष कृष्ण ढकालले संस्थालाई कुनै जातीय संकुचनमा सीमित नराखी सामाजिक उत्तरदायित्व, परोपकार, शिक्षा, संस्कृतिको संरक्षण तथा आपतविपतमा सहयोग गर्ने साझा मञ्चका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। साथै युएईमा रहेका नेपाली समुदायबीच सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्दै समाजसेवालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले बताए।

प्रवासमा रहेका नेपालीहरूको हकहित, आपसी एकता तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै गठन गरिएको क्षेत्री समाज, युएईले आगामी दिनमा विविध रचनात्मक तथा मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

मङ्गलबार २ असार २०८३ ०९:१८ PM मा प्रकाशित

प्रतिक्रिया