×

रोल्पा  र थवाङमा माओवादी  विजयी

images

रोल्पाको रोल्पा नगरपालिका र थवाङ गाउपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । रोल्पा नगर प्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य विजयी भएका हुन् ।

नगर प्रमुखमा माओवादीका सुरेन्द्र थापा घर्तीले सात हजार ६०३ मत प्राप्त गरी विजयी भएका हुनुभएको हो  । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा  माओवादीका उम्मेदवार गीता आचार्यले सात  हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले तीन हजार ७१९ मत प्राप्त गर्नुभएको छ । 

१० वटा वडा रहेको  नगरपालिकामा माओवादीले नौ वडा जितेको छ । नगरपालिकाको एउटा वडा भने कांग्रेसले जितेको छ ।

त्यसैगरी रोल्पाको थवाङ गाउँपालिकामा माओवादी विजय भएको  छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित हुनुभएको हो । उहाँले २१२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो ।

उपाध्यक्षमा माओवादीका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गर्नुभएको छ  ।
 
थवाङमा  कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।  सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा माओवादीले जितेको छ । वडा नंं १ मा हीराप्रसाद बुढामगर, वडा नं २ मा अभिलाशा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवद्र्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं ४ मा भने एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गर्नुभएको छ । 

सोमबार २ जेठ २०७९ ०८:४७ AM मा प्रकाशित

प्रतिक्रिया