काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर धाकधम्की दिएको अडियो सार्वजनिक भएपछि कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको हो।
कार्यालयका अनुसार सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौँको शंखमुलमा बस्ने २२ वर्षीय प्रकाश खड्काले कार्यालयको नाम दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रयोग गर्ने तथा धम्क्याउने कार्य गरेका थिए। उक्त घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।
प्रधानमन्त्री कार्यालयले कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि डर, धम्की र अमर्यादित व्यवहार गर्नु पूर्णतः निन्दनीय र अक्षम्य भएको जनाएको छ। घटना सार्वजनिक हुनासाथ सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई आवश्यक कानुनी कारबाही अघि बढाउन निर्देशन दिइएको कार्यालयले जनाएको छ।
कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा प्रधानमन्त्रीको नाम दुरुपयोग गरी निजी स्वार्थका लागि धम्की, बार्गेनिङ वा दबाब सिर्जना गर्ने कार्य भएमा त्यसमा नफस्न र यस्ता गतिविधिको जानकारी तत्काल सुरक्षा निकाय वा कार्यालयमा गराउन सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया