×

अर्थमन्त्री र मेयर भेट्न कीर्तिपुर बर्न अस्पताल पुगे राष्ट्रपति पौडेल

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् ।

बर्न अस्पतालको सघन उपचारकक्ष (आईसीयू)मा अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचाररत छन् । शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् । राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले स्वास्थ्योपचार र उपचार प्रक्रियाबारे जानकारी दिएका थिए ।

पौडेल र आचार्यलाई ४८ घण्टासम्म कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार सुरु अघि बढाइएको छ। अर्थमन्त्री पौडेलको घाँटी र दुबै हातको हत्केलाको माथिल्लो भागमा जलन भएको छ। कम्तीमा पनि ४८ घण्टा सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार गरिने अस्पतालले जनाएको छ।

मन्त्री पौडेलको ५ देखि ६ प्रतिशत र मेयर आचार्यको ३ देखि ४ प्रतिशत जलन भएको छ। मन्त्री पाैडेल र मेयर आचार्य पाेखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगाे लागेर घाइते भई साे अस्पतालकाे आइसियुमा शनिबार भर्ना भएका थिए।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रममा डिजिटल स्विच अन गरेर दियो र झिर्झिरे क्यान्डल बालिएको थियो । त्यसलगत्तै भ्रमण वर्ष लेखिएको ब्यानरसहितका बेलुनहरू उडाउन खोजिएको थियो ।

त्यस क्रममा मन्त्री पौडेल र मेयर आचार्यले समातेको बेलुनको झुप्पालाई आगोको झिल्काले भेटेको थियो । ती बेलुनमा हाइड्रोजन ग्यास भरिएको थियो । ‘बेलुनमा हिलियम ग्यास भर्नुपर्नेमा हाइड्रोजन भरिएको रहेछ । हामीलाई यस विषयमा ख्याल नै भएन । दुर्घटनापछि मात्र थाहा भयो,’ महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले भने ।

बेलुन पड्किँदा आगोले पोलेर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेर हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको हो ।  

आइतबार​ ४ फागुन २०८१ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया