काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन, भाषण र शासनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज (सोमबार) लमजुङको खुला सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका हुन् ।
उनले भने,‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १,२,३ र ४ को नीति संविधानमा अंकित गर्नेछौं । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुइ पटक भन्दा बढी रहन पाउने छैनन् ।’
उनले चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गर्नपनि कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने,‘स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न, चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरुमार्फत नगरौं ।’
उनले देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ ती सबैको केस्राकेस्रा केलाएको पनि दाबी गरेका छन् । उनले आफूहरुले जेनजी बिद्रोहको भावनाबमोजिम त्यो सुधार , परिमार्जन र समग्रमा परिवर्तनलाई सम्भव बनाउने पनि विश्वास दिलाए । उनले भने,‘देश जान्दछ काँग्रेस बदलिएको छ र यो पनि देश जान्दछ, जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।’
प्रतिक्रिया