काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरू आफ्नो आधिकारिकता दाबी गर्न सशरीर निर्वाचन आयोगमा उपस्थित भएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोगमा जम्मा हुँदा त्यहाँ ठूलो भीड लागेको थियो।
उनीहरूले आफूहरू नेपाली कांग्रेसको क्न्रीय समितिका बहुमत सदस्य भएको र देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबी गर्दै आयोग पुगेका हुन्।
उनीहरूले पार्टीको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नगरेको बताएका छन्। उनीहरूले गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको समेत दाबी गरेका छन्।
यही सन्दर्भमा कार्यवाहक सभापति खड्का, नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला लगायतका नेताहरु आज निर्वाचन आयोग पुगेका थिए ।
आधिकारिकता दाबी गर्दै कागजपत्र बुझाउनुअघि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनलाई लोकतन्त्रमाथि षडयन्त्रको संकेतको रुपमा अर्थ्याएका थिए ।
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीको बन्दसूची बुझाइसकेको र राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा अर्को पक्षले कांग्रेसको आधिकारिकता दाबी गरेको बताउँदै उनले त्यसलाई नेपालको संविधान, लोकतन्त्र र राजनीतिक परिवर्तनमाथि गम्भीर षडयन्त्रका संकेतको रुपमा व्याख्या गरे ।
‘त्यही षडयन्त्रको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबा गर्न आयौं भनेर सञ्चार माध्यमबाट जानकारी पायौं,’ खड्काले भने ।
प्रतिक्रिया