×

महोत्तरीमा विवाह पञ्चमीको मटकोर विधि सम्पन्न

images


जलेश्वर (महोत्तरी), २९ मङ्सिर : मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानी नगरपालिकामा भगवान् रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ । 
    
    मिथिलामा विवाहअघि मटकोटर विधि मनाउने परम्पराअन्तर्गत मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा गए राति मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ रवीन्द्रदास वैष्णवले बताउनुभयो । उहाँका अनुसार मिथिलाको धार्मिक विधिअनुसार महिलाहरुले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको लक्ष्मी सागर (पोखरी)मा पुगी भगवान् सीताको प्रतीक रहेका मूर्तिलाई नुहाई माटो उत्खनन गरेका थिए ।

    मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्त्वपूर्ण विधि हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाह पञ्चमीका दिन जनकपुरमा भगवान् राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिन्छ ।

    सोही यज्ञवेदीमा आउँदो आइतबार राति धुमधामका साथ विशेष कार्यक्रमबीच रामसीताको शुभविवाह कार्यक्रम हुने वैष्णवले जानकारी दिनुभयो । उहाँका अनुसार साधु सेवा समिति जनकपुरको आयोजनामा मटकोरका लागि जनकपुरबाट तीन दिनअघि निस्केको रथयात्राले भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मटिहानी पुगेर गए राति मटकोर विधि सम्पन्न गरेको हो । 

    यज्ञवेदीका लागि खनिएको माटो लिएर सो रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै आज विवाह पञ्चमीका लागि जनकपुर जानेछ । 

    प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि मटिहानीमा बर्सेनि रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन रहेको छ ।

शुक्रबार​ २९ मंसिर २०८० ०२:३७ PM मा प्रकाशित

प्रतिक्रिया