जनकपुरधाम । नयाँ सरकार गठन भएपछि शुरु भएको मधेशमा राजनीतिक द्वन्द अझै बढ्ने संकेत देखिएको छ ।
यसैक्रममा शनिबार उपसभामुख बबिता कुमारी राउत ईशरले मधेस प्रदेशसभाको बैठक खुला चौरमा संचालन गरेकी छन् । नियमित प्रक्रिया अवरुद्ध भएका कारण खुला चौरमा प्रदेशसभाको बैठक सञ्चालन गरेको उपसभामुख इशरले बताएकी छन् । प्रदेशसभा भवनकै अगाडिको परिसरमा सांसदहरू चौरमा बसे भने उपसभामुख ईशर एउटा कुर्सीमा उनको दुवैतिर नेपालको झण्डा राखेर बैठक चलाइएको थियो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवको प्रस्तावमा बैठक बोलाइएको थियो । बैठकमा सभामुख रामचन्द्र मण्डलले सदनको मुख थुन्नका लागि बैठक आह्वान नगरेको र भए भरका कर्मचारीहरूलाई कार्यालयबाट भगाइदिएको हुँदा बाध्य भएर चौरमै बैठक गरेको बताएकी थिइन् । उपसभामुख ईशरले कानुन र संविधान अनुसार सभामुखले पदको गरिमा राख्नुपर्ने हो तर, उहाँ कानुन मिच्नतर्फ लागेको आरोप लगाइन ।
जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले बैठक बसाउनका लागि प्रदेशसभाको बैठक कक्ष नखोलिएको र कर्मचारीहरूले समेत सहयोग नगर्दा विधायकीय कार्य अवरुद्ध हुन नदिन चौरमै बैठक बसेको बताए ।
एमाले बाहेकका ७४ सांसदले प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग प्रस्ताव दर्ता गर्नेक्रममा एमालेका सांसदहरुले अवरोध गरेपछि दुवै पक्षबीच झडप समेत भएको थियो ।
विहिबार राति नै सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा लगातार १० पटक अनुपस्थित भएको भन्दै सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारालाई पदमुक्त गरिदिएका थिए ।
सभामुखको यस निर्णयपछि उपसभामुख बबिता कुमारी राउत ईश्वरले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भनी महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गरेकी थिइन् । साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी थिइन् ।
प्रतिक्रिया