×

‘शालीन व्यक्तित्व: गृह प्रशासनको नेतृत्व’

images

काठमाडौँ, ३१ असारः नेपाली कांग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित कांग्रेस नेता रमेश लेखकले मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्ने अवसर पाउनुभएको छ ।
 
    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज उहाँलाई गृहमन्त्रीका रुपमा नियुक्त गर्नुभएको हो । राजनीतिक विषयवस्तुलाई गहन ढङ्गले विश्लेषण गरी तर्क प्रस्तुत गर्नसक्ने प्रखर व्यक्तित्व तथा अध्ययनशील नेताका रुपमा मन्त्री लेखक चिनिनुहुन्छ ।
 
    माता शारदादेवी र पिता प्रयागदत्तका सुपुत्रका रुपमा लेखकको जन्म २०२० साल मङ्सिर २५ गते बैतडी जिल्लामा भएको हो । उहाँको स्थायी ठेगाना सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको छ । नेता लेखक हाल काठमाडौँको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्नुहुन्छ ।
 
    उहाँले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गर्नुभएको छ । लेखक विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ र २०४६ सालमा नेपाली कांग्रेसमा आबद्ध हुनुभयो ।
 
    उहाँले २०३६ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको राजनीति सुरुआत गर्नुभएको थियो । २०४६ सालको जनआन्दोलनसँगै पार्टीको सक्रिय राजनीति सुरु गर्नुभयो । २०५६ सालको आम निर्वाचनमा पहिलोपटक कञ्चनपुर निर्वाचन क्षेत्र नं ४ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।
 
    जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभामा नेता लेखकले सक्रिय भूमिका खेल्नुभयो । लोकतन्त्रको बहालीपछि उहाँ श्रम तथा यातायातमन्त्री हुनुभएको थियो । लेखक २०६४ सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधानसभामा कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित हुनुभयो । लेखक भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बन्नुभयो ।
 
    पत्रकारिता र प्राध्यापनसमेत गर्नुभएका लेखक कानुन व्यवसायीका रुपमा क्रियाशील हुनुहुन्थ्यो । उहाँले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएको छ ।
 
    कानुनका ज्ञाता लेखकले संविधान तथा कानुन निर्माणमा विशेष भूमिका खेल्नुभएको थियो । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उहाँले पु¥याउनुभएको योगदान स्मरणीय छ । नेता लेखक नेपाल सरकारका तर्फबाट तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्ने टोलीका सदस्य हुनुहुन्थ्यो । गृहमन्त्री लेखकका ‘शाही शासनको एक वर्ष’, नामक पुस्तकसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित छन् ।

सोमबार ३१ असार २०८१ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया