काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलमा पनि जित हासिल गरेको छ ।
यस खेलमा वेस्ट इन्डिजको दोस्रो इनिङ केवल २७ रनमा सिमित भयो । यो टेस्ट इतिहासको दोस्रो सबैभन्दा कम स्कोर र डे-नाइट टेस्टमा सबैभन्दा कम स्कोर हो । यस टेस्टमा वेस्ट इन्डिजलाई जित्नको लागि २०४ रनको लक्ष्य थियो । तर मिचेल स्टार्कको उत्कृष्ट बलिङका अगाडी वेस्ट इन्डिज १४.३ ओभरमा केवल २७ रन बनाएर अलआउट भयो । यससँगै अस्ट्रेलियाले तीन खेलको सिरिज ३-० ले क्लिन स्वीप गर्यो ।
आफ्नो १००औं टेस्ट खेलिरहेका मिचेल स्टार्कले आफ्नो करियरको उत्कृष्ट स्पेल बलिङ गरे । उनले ७.३ ओभरमा केवल ९ रन दिएर ६ विकेट लिए । उनले केवल १५ बलमा आफ्नो ५ विकेट पूरा गरेका थिए । यससँगै स्टार्कले टेस्ट क्रिकेटमा ४०० विकेट पनि पूरा गरेका छन् ।
योसँगै स्टार्क अष्ट्रेलियाका लागि सबैभन्दा धेरै टेस्ट विकेटले चौथो खेलाडी बनेका छन् । उनीभन्दा बढी अस्ट्रेलियाका शेन वार्नले ७०८, ग्लेन म्याकग्राले ५६३, नाथन लियोनले ५६२ विकेट लिएका छन् ।
टेस्ट इतिहासमा सबैभन्दा कम स्कोरको विश्व रेकर्ड न्युजिल्यान्डको छ। १९५५ मा, अकल्याण्डमा इङ्गल्याण्डविरुद्ध न्युजिल्यान्डको इनिङ केवल २६ रनमा सकिएको थियो । र अब वेस्ट इन्डिज सूचीमा दोस्रो स्थानमा आएको छ । यसअघि, टेस्टमा वेस्ट इन्डिजको सबैभन्दा कम स्कोर ४७ रन थियो । इङ्गल्याण्डले २००४ मा सोही मैदानमा उनीहरूलाई अलआउट गरेको थियो ।
यस खेलमा अष्ट्रेलियाले पहिलो इनिङमा २२५ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजको इनिङ १४३ रनमा समेटियो। दोस्रो इनिङमा पनि अष्ट्रेलियाको ब्याटिङ असफल भयो । वेस्ट इन्डिजका बलरहरूले उनीहरूलाई १२१ रनमा आउट गरेका थिए । टेस्ट सिरीजमा मिचेल स्टार्कले प्लेयर अफ द म्याचका साथै प्लेयर अफ द सिरिजको अवार्ड पाएका छन् ।
प्रतिक्रिया