×

जसपाको आन्तरिक विवाद उत्कर्षमा

images

‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले दबाब बढाएको छ । केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत रहेको दाबी गर्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् ।

‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव)ज्यूले आनाकानी गरिरहनु भएको छ । तर, सो मुद्दाको पक्षमा पार्टीभित्र स्पष्ट बहुमत जुटेको छ,’ असन्तुष्ट केन्द्रीय नेता मोहम्मद इस्तियाक राईले भने, ‘बहुमतको निर्णय मान्नु हुन्छ कि एकल रूपमा चल्नु हुन्छ ? त्यसको निर्णय गर्ने जिम्मा अब अध्यक्षज्यूको काँधमा छ ।’ उनका अनुसार बहुमतको निर्णयलाई स्वीकार गरेर अध्यक्ष यादव समावेशी र सामूहिक नेतृत्वका लागि तयार हुनुपर्नेछ ।

तर, अध्यक्ष यादवसँग असन्तुष्ट राईले अध्यक्ष यादवको विपक्षमा के कति मत छ ? भन्ने बारेमा स्पष्ट रूपमा खुलाउन भने चाहेनन् ।  भट्टराई निकट एक नेताको दाबी अनुसार कार्यकारिणी समितिमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका भट्टराई समूहसँग २१ र यादवको पक्षमा आठ जना छन् भने ११ जना सांसद भट्टराईको पक्षमा खुल्दा यादवलाई आठ जना सांसदले मात्र साथ दिइरहेका छन् ।

यसैगरी, केन्द्रीय समितिमा ३०४ असन्तुष्ट समूहमा खुल्दा यादव भने २०३ सदस्यले मात्र साथ दिएको भट्टराई निकट नेताले जानकारी दिए । 

यसैगरी, यादव एकल नेतृत्वमा रहिरहने चाहनाको विपक्षमा भट्टराईसहित अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, मोहम्मद इस्तियाक राई, प्रदिप यादवलगायतका नेताहरू उभिइरहेका छन् ।

 

मङ्गलबार ३ फागुन २०७८ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया