×

विधानमा प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : अध्यक्ष दाहाल

images

काठमाडौँ, ३ फागुन  :  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गरेपछि  उहाँले प्राप्त सुझावका आधारमा विधानलाई ओजपूर्ण बनाइने बताउनुभयो ।
 
  अध्यक्ष दाहालले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको गरेर पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । आमरुपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको सुझाव आएको उल्लेख गर्दै उहाँले आगामी अधिवेशनबाट एक सय ९९ सदस्यीय केन्द्रीय समिति बनाइने निष्कर्ष सुनाउनुभयो ।
 
आगामी अधिवेशनपछि ११ जनाको केन्द्रीय कार्यालय बनाउने र त्यसैलाई प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो । योग्यता र कार्यअवधिको व्यवस्था नियमावलीमा गर्न उचित हुने उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने बताउनुभयो ।
 
प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै अध्यक्ष दाहालले त्यसैले सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने जानकारी दिनुभयो । नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै अध्यक्ष उहाँले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने बताउनुभयो ।
 
 अध्यक्ष दाहालले पार्टीका विभिन्न मोर्चालाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताउनुभयो । उहाँले स्थायी समितिको बैठकबाट कार्यविभाज गरेर जानकारी दिइने बताउनुभयो ।

बिहीबार ३ फागुन २०८० ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया