×

पोखरा म्याराथनः हिमाल हेरर तालको किनारमा दौडदै धावक

images


गण्डकी, ३ माघ : पर्यटकीय नगरी पोखरामा यही फागुन ५ गते १८औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । 

    विश्व परिवेशमा चर्चित सहरका नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणाअनुरुप नै यहाँ हरेक वर्ष नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथन गर्दै आएको छ ।

    पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुदबाटै पर्यटन प्रवद्र्धन गर्न वर्षको एक दिन आयोजना गरिने यस प्रतियोगितालाई सहरकै उत्सवका रुपमा मनाउँदै आइएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुुभयो ।

    खेलकुदका क्षेत्रमा योगदान गरेका खेलाडी एवं खेलप्रेमीको साझा संस्थाका रुपमा २०५८ सालमा स्थापित मञ्चले पोखरालाई खेल पर्यटनको समेत गन्तव्य बनाउने लक्ष्यका साथ म्याराथन सञ्चालन गर्दै आइएको उहाँको भनाइ थियो । 

    सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत विभिन्न नौ वटा ‘इभेन्ट’ एकैपटक एकैदिन आयोजना गर्ने मञ्चको तयारी छ । “इभेन्टअन्तर्गत खुला म्याराथन ४२दशमलव १९५ किमी, २१दशमलव ०९७ किमी हाफ म्याराथन महिला, महिला । पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्रछात्रा पाँच किमी दौड तथा ५० वर्ष माथिको भेट्रान महिला पुरुष दौड सञ्चालन हुँदैछन्”, अध्यक्ष पराजुलीले भन्नुभयो ।

    सोहीअन्तर्गत यही माघ २७ गते महिला तथा पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड सम्पन्न गरिसकिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यस वर्ष पनि हामी पोखरेलीले वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ मा सम्पूर्ण पोखरेलीलाई आह्वान गर्दछौँ ।”
मञ्चले तीन वर्षअघिदेखि फागुन पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना गर्ने निर्णय गरेबमोजिम नै फागुन ५ गते शनिबार १८औँ संस्करणको उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष पराजुलीले जानकारी दिनुुभयो ।

    “हिमालको फेदमा ताल हेर्दै दगुर्न पाइने पोखरा म्याराथन यहाँको महत्वपूर्ण आकर्षण नै बन्दै गएको छ”, उहाँले भन्नुभयो, “पोखराको यस म्याराथनलाई छुटाउन हुँदैन भन्ने जनमत पनि बढ्दै गएको छ ।”

बिहीबार ३ फागुन २०८० ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया