काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका बालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एक अधिकृतका अनुसार, तीन जनाकै शव सडेको अवस्थामा फेला परेको हो ।
गाम्छामा मृत भेटिएकी सिता दंगाल नगरकोटीका पति ४९ वर्षीय कान्छा नगरकोटीले खोजतलास गरिपाउँ भनेर निवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । बिहीबार मध्यान्ह साढे २ बजेतिर उनले आफ्नी पत्नी, छोरा र छोरी कार्तिक १६ बाट हराएको भनेर निवेदन दिएका हुन् ।
कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त, बौद्ध र जिल्ला प्रहरी परिसर, काठमाडौंले खोजी थालेको थियो । त्यसक्रममा बिहीबार अपराह्न आफ्नै घरको बन्द कोठाभित्र ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालकको शव भेटिएको थियो ।
घटनास्थलमा पुगेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खटिएका चिकित्सकहरुले शव सडिसकेकाले पोष्टमार्टम गर्न समेत कठिनाइ हुनसक्ने बताएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी अधिकारीका अनुसार सीताका श्रीमान कान्छा नगरकोटीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया