×

सिमलताल पहिरोः तीनवटै शवको पहिचान

images

भरतपुर (चितवन), ३० असारः नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । 

गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय परियारले शवको सनाखत गर्नुभएको हो । 

वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बसमा उहाँ भरतपुरबाट चढ्नुभएको थियो । मृतक विकासको शव नजिकै फेला परेको अर्काे शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताउनुभयो । गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ । मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गर्नुभएको प्रहरी जनाएको छ । दुई शव शनिबार नै आफन्तले लगेका छन् ।

शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ । पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

आइतबार​ ३० असार २०८१ ०९:४६ AM मा प्रकाशित

प्रतिक्रिया