विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी इतिहासकै कठिन र कमजोर मोडमा आइपुगेको दाबी गर्नुभएको छ. आइतबार विराटनगरमा आयोजित इतर पक्षको विशेष भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेस व्यावहारिक रूपमा विभाजित भइसकेको र यसलाई बेलैमा नसच्याए पार्टी थप संकटमा पर्ने चेतावनी दिनुभयो.
भेलामा बोल्दै नेता कोइरालाले पार्टीभित्रको आन्तरिक कलहकै कारण संगठन कमजोर बनेको उल्लेख गर्नुभयो । डा. कोइरालाले वर्तमान सभापति गगन थापाको कार्यशैलीप्रति सीधा प्रश्न उठाउनुभयो. उहाँले भन्नुभयो, “के गगन थापाले एक्लै पार्टी सञ्चालन गर्न सक्नुहुन्छ? पुराना र अनुभवी नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु नेतृत्वको भ्रम मात्र हो।”
कोइराला निवास पुग्दा आफू भावुक बनेको स्मरण गर्दै उहाँले कांग्रेसलाई योजनाबद्ध रूपमा टुक्र्याइएको आरोप लगाउनुभयो. सर्वोच्च अदालत र निर्वाचन आयोगका कतिपय निर्णयहरूले पार्टीमा विभाजनको गलत रेखा कोरेको उहाँको तर्क थियो।
पार्टी बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गर्दै उहाँले भन्नुभयो, “आज गाउँगाउँमा कांग्रेसका कार्यकर्ता र समर्थकहरू छन्, तर नेतृत्वको कमजोरीका कारण त्यो जनसमर्थन चुनावमा मतमा रूपान्तरण हुन सकेको छैन।”
वर्तमान संकटबाट पार पाउन 'पार्टी एकता' बाहेक अर्को कुनै विकल्प नरहेको डा. कोइरालाले प्रष्ट पार्नुभयो। डा. शेखर कोइरालाले सुरु गरेको पार्टी शुद्धीकरण र एकता अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहने उहाँले घोषणा गर्नुभयो।
विराटनगरको यस भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेत लगायतले पनि सम्बोधन गर्दै पार्टीको वर्तमान कार्यशैलीको आलोचना गर्नुभएको थियो।
प्रतिक्रिया